वसन्त पञ्चमीको अवसरमा विशाल टोरान्टोको काव्य गोष्ठी


 गत १७ फरवरीका दिन वसन्त पञ्चमीको शुभअवसरमा टोरोन्टो साहित्य समाजको तत्वधानमा एन.आर.एन क्यानाडा, भाषा साहित्य समिति र अ.ने.सा.स. टोरोन्टो चेप्टरको संयुक्त आयोजनामा काव्य गोष्ठी सुसम्पन्न भयो । गैरआवासीय नेपाली संघ,  अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य श्री नवराज गुरुङ्गको प्रमुख आतिथ्यमा समाजका अध्यक्ष मुक्ती गौतमको सभापतित्वमा बयोवृद्ध श्री उमाकान्त गौतमबाट विद्याकी देवी श्री सरस्वती माताको पुजा अर्चनासहीत बालबालिकाहरुलाई पहिलो अक्षर लेखाएर अक्षराम्भबाट शुभारम्भ गरेर काव्य गोष्ठीबाट सम्पन्न भएको थियो । २२ वटा काव्यात्मक प्रस्तुतिहरु रहेको यस काव्य गोष्ठीमा बाल प्रतिभाहरु मेधावी गौतम, स्वर्णीमा गुरुङ्ग, अनी भट्टराई र सौगात गुरुङ्गबाट अंग्रजी कविता वाचन गरिएको थियो भने चारजना टोरोन्टोबाहिरका कविहरु ऋषी बस्ताकोटी, मानकाजी, कुसुम ज्ञवाली र डा. उषा शर्माका कविताहरु बाचनका साथै १४ जना स्थानीय कविहरुले विभिन्न विषयवस्तुका कविताहरु वाचन गरेका थिए । कुनै कवितामा मातृत्वको चित्कार पाइन्थ्यो भने कुनैमा सामाजिक विसंगतिमाथि व्यङ्ग्य प्रहार, कुनैमा विछोडका कुरा त कुनै कविता महिलाप्रतिको आस्था र बलिदानमाथि अभिव्यक्त थियो । कुनै कविताले स्वार्थीमाथि व्यङ्ग्य कसेको थियो भने कुनैमा नेपालको प्राकृतिक सौन्दर्यताको वयान गरिएको थियो । कुनै कविताले मानवीय जीवनका उतारचढाउमा आईपर्ने कठिनाईहरुलाई पञ्छ्याउँदै अगाडि बढ्न आव्हान गरेको थियो भने कुनैले राष्ट्रको दयनीय अवस्थाको चित्रण गर्दै सकारात्मक परिवर्तनका लागि आसावादी स्वरहरु मुखारित गरिएको थियो । कतै पैसाले फैलाएको विसङ्गतिमाथि शब्दबाण चलेको थियो भने कतै संघर्षमय जीवनको वयान गरिएको थियो । कतै विश्वबन्धुत्वको खोजीमा शब्दहरु रुमल्लिरहेका थिए भने कतै राष्ट्रिय अराजकताको समाधानका लागि काव्यात्मक अनुरोध गरिएको थियो  । बाल सृजनाका माध्यमबाट कुनैले माता सरस्वतीको महीमा पस्केका थिए भने कुनैले नेपाल र क्यानाडाबीचको सम्बन्धलाई स्मरण गर्दै यस दिवस्को महिमा वयान गरेको थियो । कतै मानवीयता र समानताको लागि आव्हान गरिएको थियो भने कुनैमा ईश्वरले दिएको मानवीय जीवनको सही प्रगोगका लागि अनुरोध गरिएको थियो । समारोह स्थलनै भरिएको साहित्यप्रेमी समुदायका बीच सम्पन्न यस काव्य गोष्ठीले साहित्यप्रतिको रुचि निरन्तर बढ्दै गएको आभास दिएको छ ।

विशाल टोरोन्टोबाट गीत÷गजल÷कविता वाचन गर्नेहरुमा कल्पना अवस्थी, राधीका अर्याल, प्रदिप पौड्याल, तीर्थ वराल, किस्मत भण्डारी, राधीका खरेल, सपना गौतम, रमेश थापा, गोपीकृष्ण काप्mले, किरण पन्त, विष्णु गौतम, गोपाल भण्डारी, डा. तुलसी धरेल, मुक्ती गौतम र डा. गोबिन्द रावत आदि रहेका थिए ।

२००४ को वसन्त पञ्चमीको पुनित अवसरमा स्थापना भएको टोरोन्टो साहित्य समाजले प्रत्येक वर्ष विभिन्न अवसरमा यहाँका संस्थाहरुको संयुक्त आयोजनामा साहित्यिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । यसपटकको काव्य गोष्ठीमा सभापतिको आसनबाट आप्mनो मनतव्य राख्दै अध्यक्ष श्री मुक्ती गौतमले अबदेखि यस्ता साहित्यिक गोष्ठीहरुको आयोजना टोरोन्टो साहित्य समाजबाट गरिने जानकारी दिदै समाजमा किरण पन्त, प्रदिप पौड्याल, रमेश थापा, हरी लम्साल, भीम विष्ट, विष्णु गौतम र सपना गौतमलाई नयाँ सदस्यका रुपमा मनोनयन गरेको जानकारी दिनु भयो । समाजले चाडै क्यानाडाको काव्य कोसेली पुस्तक प्रकाशन गर्ने पनि जानकारी गराएको छ ।

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com