खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा प्रदान गरिने पद्मश्री साहित्य सम्मान— २०६९ शारदा शर्माको उपन्यास ताप लाई अर्पण गर्ने निर्णय गरिएको छ । यसमा इतिहास र वर्तमानको समय त्रासदीलाई आख्यानात्क ढंगले प्रस्तुत गरिएको छ । यस उपन्यासमा आध्यात्मिक चेतना, समाजिक आकांक्षा र भौतिक तृष्णालाई आकर्षक शैलीमा अभिव्यञ्जित गरिएको छ । यस उपन्यासभित्र नारी संवेदनाका विविध पाटाहरुलाई उजागर गरिएको छ ।
वि.सं २०६३ मा स्थापित पद्मश्री साहित्य सम्मान वि.सं २०६३ मा गणेश रसिकको दश गजामा उभिएर संस्मरणलाई, २०६४ मा भानुभक्त पोखरेलको हिमवतखण्ड महाकाव्यलाई, वि.सं २०६५ मा कृष्ण बरालको समय हराएको बेला उपन्यासलाई, वि.सं २०६६ मा ध्रुव सापकोटाको अकल्पनीय उपन्यासलाई र अमर न्यौपानेको पानीको घाम आख्यानलाई, वि.सं २०६७ मा झमक घिमिरेको जीवन काँडा कि फूल जीवनी र रवीन्द्र समीरको अर्जुनदृष्टि लघुकथासंग्रह र वि.सं २०६८ मा खगेन्द्र संग्रौलाको आफ्नै आँखाको लय निबन्ध संग्रहलाई प्रदान गरिएको थियो । यस पुरस्कारको राशी रु। दुई लाख रहेको छ । वि.सं २०६५ सम्म मोफोसलमा रही साहित्य साधना गर्ने स्रष्टालाई मात्र दिइने गरिएको साहित्य सम्मान वि.सं २०६६ देखि राष्ट्रव्यापी गरिएको छ ।
सात दशकदेखि नेपाली संस्कृति, लोकसाहित्य तथा नाटकका क्षेत्रमा विशिष्ट योगदान पु¥याएका सत्यमोहन जोशीलाई पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय गरिएको छ । वि.सं २०६७ सालमा स्थापना गरिएको यो पुरस्कार पहिलो पटक राष्ट्रकवि माधव घिमिरेलाई र दोस्रो पटक वि. सं २०६८ मा मदनमणि दीक्षितलाई अर्पण गरिएको थियो । यस पुरस्कारको राशी रु. एक लाख रहेको छ । यो सम्मान हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिन्छ ।