हिजो साँझदेखि फेसबुक रङ्गिएको छ – एक गुण्डाको मृत्युको सनसनीले | सयौँ फेसबुकीयनहरूले त्यस घटनालाई बडो महत्त्व दिएको देखियो | तर यसैवीच यो फोटोमा देखिएकी नेपाली नागरिकको पनि ‘असामयिक’ मृत्यु भयो | किन कसैको ध्यान यीप्रति गएन ? पत्रपत्रिकामा पढिएअनुसार यी हुन् – शोभा परियार |
शोभा परियार भानुमति ९ स्थित हिमालय उच्चमाविबाट शिक्षाशास्त्रमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेकी एक युवती | कमजोर आर्थिक अवस्थाका कारण घरेलु कामदारमा चार वर्षअघि साउदी हिँडेकी शोभाले यातनाको प्रतिकार… गर्ने क्रममा घर मालिकका २ वर्षीय छोराको मृत्यु भएर जेलमा बस्नु परेको रहेछ | भवितव्य परेको हुनाले सउदी मालिकले जेलमुक्त गराउने र स्वदेश फर्काउने भनेको रहेछ । गत आईतबार मात्र शोभाले जेलबाट आफ्नी आमा बुद्धिसरालाई “आमाबाबा मेरो कुनै चिन्ता नलिनू बरु तपाईंहरूले आफ्नो स्वास्थ्यको ख्याल राख्नू , नातिलाई पढ््न भन्नू” भनेकी रहिछन् | तर भोलिपल्ट ‘सोमबार’ नै सउदी सरकारले यिनलाई अरारनगरमा टाउको काटेर मृत्युदण्ड दियो रे |
समाचार पढेर हेर्दा त आईतवारसम्म ढुक्क भएकी सोमबार नै टाउको काटिँदा शोभा परियारले आफ्नो कुरा नै राख्न नपाएको या नसकेको भन्ने पनि देखिन्छ । विदेशमा भाषाकै कारण पनि मानिसले आफू निरपराधी भएको प्रमाणित गर्न सक्दैन | विडम्वना हो यो |
हाम्रो देशको एक नागरिकको परिवारमा सहनै नसकिने गरी परेको बज्रलाई पनि आफ्नै वेदना सम्झनु पर्छ हामीले – मेरो सोचाइमा |
त्यसैले यिनीलाई अश्रुपूर्ण श्रद्धाञ्जलि !