म्याडिसनमा १८औं कोठे साहित्य गोष्ठी सम्पन्न
मध्य–पश्चिम अमेरिकाको सानो शहर म्याडिसन, विस्कन्सिनमा नेपाली भाषाको सानो यत्न, एउटा चौमासिक साहित्यिक भेट्घाट हुने गर्छ र यसलाई नाम दिईएको छ – म्याडिसन कोठे साहित्यिक गोष्ठी । शिशिर ऋतुको आँत जमाउने चिसो छिचोल्दै, २०१७ सालको अमिला तिता पल पछाडि छोडेर सुकिला मलीला पल सङ्गाल्ने आशा, उमङ्गका साथ २०१८ जनवरी १ तारिकका दिन म्याडिसनमा १८औं कोठे साहित्यिक गोष्ठी सम्पन्न भएको छ ।दिनार श्रेष्ठ एवम् धन मल्ल श्रेष्ठको आयोजनामा उहाँहरुको आवासमा भएको यस कार्यक्रममा उत्साहका साथ २७ जना सहभागीले कविता, गीत, मुक्तक, गजल, भजन, संस्मरण, चुट्किला प्रस्तुत गरेर व शुभकामना आदान प्रदान गरेर सम्पन्न गरियो । कार्यक्रमको सुरुवात कृष्ण प्रधानले अम्बर गुरुङ्गको शब्द/सङ्गीत/स्वर रहेको “मन सुन्दर त सुन्दर हुन्छ धर्ती गगन सारा” बोलको अती सुमधुर गीत प्रस्तुत गरेर गर्नु भएको थियो त्यसको लगत्तै गोबिन्द गिरी प्रेरणाले आफ्नो मिठो गजल वाचन गर्नुभएको थियो । तत्पस्चात नियात्राकार राजेन्द्र अर्याल, साहित्यकार गोबिन्द सिँह रावत, अबिमन पसछें, लक्ष्मी गुरुङ्ग, धन मल्ल श्रेष्ठ, लेखनाथ काफ्ले, बिजय श्रेष्ठ, गंगा मल्ल श्रेष्ठ, नारायणदास मल्ल, बिनोद पाण्डे, आविष्कार भारती व सन्तोष लामिछानेले कविता वाचन गर्नु भएको थियो भने मञ्जु लाल कर्णले भजन, चन्द्रकिशोर लाल कर्णले आफ्नो जनकपुरमा रहँदाको ३८ बर्षे प्रध्यापन पेशाको छोटो संस्मरण र दिनार ‘रनादी‘ले चुट्किला सुनाउनु भएको थियो ।
वरिष्ठ साहित्यकार द्वय गोबिन्द गिरी प्रेरणा र गोविन्द सिँह रावतले क्रमश भर्जिनिया र टोरोन्टो, क्यानडाबाट फोनको माध्यमबाट आफ्नो रचना वाचन गर्नुभएको थियो । कार्यक्रमलाई रोचक बनाउन दिनार ‘रनादी‘ले छोटो नेपाली हाजिरी जवाफ प्रतियोगिता पनि सञ्चालन गर्नुभएको थियो । गोबिन्द द्वय एवम् प्रसिद्ध स्रष्टा हिरण्य भोजपुरेको सप्रेम शुभकामनाले म्याडिसन साहित्य प्रेमी जनमानसको मन हर्षित भएको देखिन्थ्यो । मन्त्रमुग्ध पार्ने साहित्यरचना वाचन पछी सम्पूर्ण सहभागीहरुलाई मनै तृप्ति हुने मिठो खाना–पिनाको आयोजक दम्पत्तीले व्यवस्था गर्नु भएको थियो । वाचन भएको सम्पूर्ण रचना आविष्कार भारतीद्वारा सञ्चालित “म्याडिसनको साहित्य डबली” ब्लगमा राखिने छ । फेरी अर्को साहित्यिक डबलीमा भेट्ने वाचाका साथ अङ्ग्रेजी नयाँ बर्षको शुभकामना एक–आपसमा साट्दै आफ्नो सुन्दर मन लिएर सबै आफ्नो सुन्दर संसारमा तिर लागेका थिए । (आविष्कार भारती)
नेपालको जेठो साहित्यिक पत्रिका शारदा अब अनलाइनमा पनि
बिक्रम सम्बत १९९१ मा ऋद्धिबहादुर मल्लको एकल पहलकदमिमा शुरु भएको नेपालको जेठो साहित्यिक पत्रिका ‘शारदा’ अब अनलाइनमा पनि पढ्न सकिने भएको छ । नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको सहयोगमा हालै यस कार्यको थालनी गरिएको छ । नेपाली साहित्यिक पत्रकारीताको इतिहासमा कोशेढुंगाको रुपमा हेरिएको शारदाले तत्कालिन समयमा लक्ष्मीप्रसाद देवकोटा, गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, गोपालप्रसाद रिमाल जस्ता नेपाली साहित्यका मानक श्रष्ठा जन्माउनमा बिशेष भूमिका खेलेको र साहित्यका विविध स्वाद पस्कदै तत्कालीन समयमा लोकप्रिय रहेको शारदाले पछिल्लो समयमा निरन्तरता पाउन सकेको थिएन ।
पछिल्लो समय कवि तथा साहित्यिक पत्रकार विमल भौकाजीको सम्पादनमा यो ऐतिहिसिक पत्रिकाले पुनर्जीवन पाएको छ । विगत केही बर्षदेखि सम्पादक भौकाजीले मिहिनेतका साथ शारदालाई नया नया स्वादमा प्रस्तुत गर्दै आएका छन्। कहिले हस्ताक्षरमा गजल, मुक्तक त कहिले दिबंगत श्रष्ठाका सिर्जना, कहिले भूकम्पको बिशेशांक त कहिले प्रवासको साहित्य शारदामा समेटिएका छन् । तत्कालिन समयमा लेखिएका तत्कालिन महत्वका लेखरचनाहरु सान्धर्भिकता हेरी आजको शारदामा ऐतिहिसक दस्तावेजको रुपमा पुनप्रकाशित समेत हुनेगरेका छन् । शारदाको निरन्तरताको लागि सम्पादक भौकाजी ठुलो महत्वकांक्षाका साथ लागेका छन् । जस्तोसुकै अवस्था आईपरे पनि आफ्नो जीवनभर मात्रै होइन कालान्तरसम्म ‘शारदा’लाई जीवित राखिराख्ने वातावरण बनाउन उनी प्रतिवद्ध रहेको बताउञ्छन ।
पछिल्लो समय नेपाली साहित्यका सर्जक र पाठक संसारभरी फैलंदै गएको सन्धर्भमा अब शारदालाई नयाँ नयाँ प्रविधिको विकाससंगै इन्टरनेटको माध्यमबाट त विश्वभर पुर्याउने भएको छ । शारदासंगको सहकार्यमा नर्थ क्यारोलाइना नेपाली साहित्य समाज समाजले अंग्रेजी नया बर्ष २०१८ देखी वेव होस्टिंगको काम सुरु गरेको छ । ऐतिहिसिक महत्व बोकेको साहित्यिक पत्रिका शारदाको निरन्तरता र विश्वव्यापीकरण अभियानमा प्रवासमा बसेर पनि सहकार्य गर्न पाउँदा खुसी लागेको बताउञ्छन नर्थ क्यारोलाइना नेपाली साहित्य समाज समाजका अध्यक्ष्य मनोज प्रधान। नर्थ क्यारोलाइना साहित्यिक विशेष अंक प्रकाशित गरेर शारदाले ठुलो गुन लगाएको र यही विशेष अंकबाट आफूहरूले वेव होस्टिंग गर्न पाउनुलाइ मनोज प्रधान ऐतिहासिक संयोगको रुपमा लिन्छन ।शारदाको यो अंकमा अमेरिकाको नर्थ क्यरोलाइना बसेर साधनारत मनोज प्रधान, नीलम कार्की निहारिका, डा ऋषि बस्ताकोटी, बिक्रम गौतम, शिखर दुलाल, नम्रता गुरागाई, निर्मला राजभण्डारी, शिशिर खनाल, सुजाता ढुंगेल लगायतका सिर्जनाहरू छन् भने साहित्यिक हिसावले विभिन्न कालखण्डमा नर्थ क्यारोलिनासंग जोडिएका साहित्यकारहरू दिनेश अधिकारी, चन्द्रकला नेवार, गोविन्द गिरी प्रेरणा लगायतका अनुभूतिहरू पनि समेटिएका छन् ।(डा ऋषि बस्ताकोटी)
शारदाको नया अंक र अब देखिका सम्पूर्ण अंकहरुका लागि तलको लिंक हेर्नुहोला :