अ.ने.सा.स. अन्तर्राष्ट्रिय कि राष्ट्रिय संस्था हो ? मत दिनअघि सोच्नु जरुरी छ


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को स्थापना ई १९९० मा भएपछि नेपालबाहिरको नेपाली साहित्यले गति लिन थालेको थियो । यसको स्थापना अमेरिका भूमीबाट भएको हुनाले विधिवत दर्ता पनि अमेरिकाको सामाजिक संस्था ऐन अनुसार भएको थियो । कुनै पनि संस्थाको जन्म केही व्यक्तीहरुको प्रयासबाट भएको हुन्छ ।अनेसास पनि होमनाथ सुवेदीको प्रयासबाट स्थापना भएको थियो । विभिन्न कारणले प्रवासिनु परेका नेपालीहरुले आफ्नो भाषा र साहित्यलाई नेपालबाहिरसम्म फैलाएर लाने उद्देश्यका साथ स्थापना भएको अनेसास  आप्रवासको संस्था हो भनेर बुझ्नु जरुरी छ । जहाँ जहाँ नेपाली साहित्य कर्मीहरु थुप्रिये त्यहाँ त्यहाँ नेपाल साहित्य समाजको नामबाट साहित्यिक संस्था स्थापना भएका छन् । दार्जिलिङ्ग, खस्र्याङ्ग, डुबर्स, सिलीगुडी, देहरादुन, आसाम, मेघालय, बनारसका विभिन्न शहरहरुबाट लिएर समुद्रपारी पनि नेपाली साहित्य समाजको नामबाट साहित्यिक संस्थाको जन्म हुँदै आई रहेको छ । नेपालमा पनि अञ्चल, जिल्ला, शहर र टोलको नामबाट साहित्य समाजको नाममा साहित्यिक संस्था स्थापना हुँदै आएका छन् । यसरी स्थापित संस्थाको आआफ्नै कार्यक्षेत्र हुने गर्दछ । त्यहीँ कार्यक्षेत्रभित्रबाट संस्था संचालन गर्न कार्यसमिति बन्ने गर्दछ । त्यसैले नेपालभन्दा बाहिर समुद्रपारी साहित्य कर्म गरी रहेका नेपालीहरुका लागि स्थापना गरिएको नेपाली साहित्य समाजको अगाडि अन्तर्राष्ट्रिय शब्द जोडिएर बनेको अनेसास विशुद्ध नेपालबाहिरको संस्था  हो भनेर बुझ्न जरुरी छ । यसमा नेपालको गतिविधि र संलग्नता पनि रहन्छ तर संस्थाको उद्देश्यमा नै नेपालबाहिरको नेपाली साहित्यको संरक्षण गर्न भनी सकेपछि फेरी किन यसलाई नेपालमा नै अवतरण गर्न खोजिएको हो ।
अनेसासको स्थापना भएपछि संस्था संचालन गर्न प्रारम्भमामा अमेरिकाबाटै कार्यसमिति बनाइएको थियो । विस्तारै यसले प्रयोग गरेको अन्तर्राष्ट्रिय शब्दले यसका शाखाहरु अमेरिकाबाहिर पनि खुल्दै गएपछि संस्थाको दायरा अलि फराकिलो बन्दै गयो । यसको स्थापनाको उद्देश्य भनेको नै नेपालबारिहको नेपाली साहित्यको संबद्र्धन र संरक्षण गर्दै लिएर जानु रहेको छ । तर शुरुदेखिनै अनेसासमा आबद्ध भएका तत्कालिन कार्यसमितिले संस्थाको भविष्यभन्दा पनि आफ्नो उद्देश्यका लागि यसलाई प्रयोग गर्दै गएको देखिन्छ । अनि नेपालका साहित्यकर्मीहरुलाई अमेरिका डुल्ने सपना बेचेर सय डलरमा सदस्य बनाउदै गएपछि अनेसासको कार्यव्यवस्थापनमा नै अनेकरुपता देखिन थाल्यो । कुनै पनि संस्थाको सदस्यता लिएपछि त्यसको नेतृत्व तहसम्म पुग्ने चाहना सबै सदस्यको हुन्छ र यो अधिकारको कुरा पनि हो । त्यसैले अनेसासको शाखा विस्तार हुँदै गयो र नेपालबाहिरको भन्दा नेपालभित्रका सदस्यहरुको संख्या बढ्दै गयो ।
यहाँ म अनेसासलाई गैरआवासीय नेपाली संघ अर्थात एनआरएनसँग जोड्न चाहन्छु । एनआरएनको स्थापना विशेष गरेर नेपालबाहिर बसोबास गर्ने नेपालीहरुका लागि भारतको एनआरएनको नेपालीकरणका रुपमा गरिएको हो । गैरआवासीय भनेपछि नेपालबाहिर बसेकाहरुलाई बुझाउने भएकोले यसको सदस्यहरु पनि सबै नेपालबाहिर बसेकाहरुमात्र छन् भने यसको कार्यकारिणीहरु पनि नेपालबाहिर बसेकाहरुबाट नै चुनिदै आएका छन् । यो व्यापारीहरुको संस्था भएकोले प्रत्येक दुई वर्षमा काठमाडौंमा भव्य भेला गराएर कुनै देशको व्यापारीले नयाँ कालको नेतृत्वको अविभारा लिने गरिन्छ । त्यस्तै नै हो अनेसास पनि । फरक भनेको यसका अभिव्यक्तीका माध्यमबाट आफ्नो सिर्जनाको लगानि गर्नेहरुको बाहुल्यता रहने गर्दछ । तर दुवै आप्रवासका नेपालीहरुका लागि स्थापना भएको संस्था हो । त्यसैले दुुवैको कर्मभूमि नेपालबाहिर भएकोले नेपालबाहिरबाटै नेतृत्व हुनु पर्छ भन्ने मेरो राय हो । अझ अनेसासले एनआरएनसँग मिलेर जानु पर्ने हो । प्रारम्भमा यसको शुरुवात पनि नभएको हैन तर फेरी नेतृत्व वर्गको लापरवाहीले गर्दा एनआरएन टाडिदै गयो र प्रारम्भमा एनआरएनबाट आउने गरेको साहित्यिक पुरस्कार पनि रोकियो । आजको मितिमा एनआरएन आफैले भाषासाहित्य उपशाखा खोलेर साहित्य कर्म गर्दै छ । नेपाली साहित्यको विश्वव्यापीकरण भएको शंखघोष पनि एनआरएनले नै गरेको थियो भने यस वर्षदेखि भानुजयन्तिलाई अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य दिवस्को रुपमा मनाउने घोषणा पनि एनआरएन भाषा साहित्य उपसमितिले गरेको हो । यो कार्यहरु अनेसासबाट हुनु पर्ने थियो तर नेतृत्वको कमजोरीले गर्दा भएन भने भानुजयन्तिलाई अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य दिवस्का रुपमा पनि अनेसासले मनाएको सुनिएन ।
नेपालबाट अनेसासको सदस्य बनाएर यसमा आबद्ध गराउन खोज्नु  नराम्रो हैन नेपालबाट सदस्यता लिएकाहरुलाई कार्यकारिणीको कुन तहसम्म राख्न सक्ने भन्नेबारे कतै किटान गरिएन । सय सय डलरमा सदस्य भएका नेपाली साहित्यकर्मीहरुको चाहनालाई कतिसम्म पु¥याउन सकिन्छ भनेर त्यसबेला सोचिएन । नेपालबाहिरका नेपालीहरुको अन्तर्राष्ट्रिय संस्थामा नेपालको सहभागिता कता र कतिसम्म हुनु पर्छ भन्ने एउटा मापडण्ड बनाउनु जरुरी भएको छ । अनि नेपाललाई अनेसासको कार्यकारिणी समितिमा शाखा उपाध्यक्षसम्म दिन सकिने यसले अनेसासको नेपाल शाखाको प्रमुख भएर कार्य गर्न पाउने जस्ता नियम तर्जुमा गरी नेपालमा एउटा सम्पर्क कार्यलय बनाएर अनेसासको सबै कार्य सम्पादन त्यहाँबाट गरिने व्यवस्था गरिनु पर्छ । अन्तर्राष्ट्रिय भनिसकेपछि संस्थाको नेतृत्व राष्ट्रबाट हुन थाल्यो भने  कालान्तरमा सबै कार्यकारिणीहरु नेपालबाटै चुनिन सक्छन् । प्रजातन्त्रमा मतमाथि विश्वास गरिन्छ र मत दिने अधिकार अनेसासको सदस्यहरुलाई मात्र हुने भएकोले आप्रवासमा रहेका साहित्यकर्मीहरु भन्दा नेपालको बढी देखिएपछि नतिजा छर्लङ्ग नै छ ।
भारतको नेपाली साहित्य आजको मितिमा प्रवासी साहित्य नभएर भारतीय नेपाली साहित्य भनेर चिनिन्छ । भारतीय साहित्य संघसंस्थाको नेतृत्व त्यहीँबाट गरिन्छ भने नेपालको साहित्यिक संस्थाको नेतृत्व पनि नेपालबाटै भएका छन् । अब नेपालबाहिर समुद्रपारी बसेर साहित्य कर्म गरी रहेका साहित्यकर्मीहरुको संस्था अनेसासको नेतृत्व किन नेपालले गर्नु पर्यो ? पहिल्यै देखिनै नेतृत्व वर्गको निजि स्वार्थले गर्दा अनेसासबाट चोइटिएर विश्व महासंघ बन्न गयो । अब फेरी अनेसास अर्कोपटक नचोइटियोस । यदि त्यसबेला नेतृत्व वर्गले कुर्सी न च्यापेको भए अनेसास टुक्रिने थिएन । यसले विशालता पाउँदै जान्थ्यो । आज फेरी त्यहीँ अवस्था आउँदै छ । अब के गर्ने ? हामीले संस्थाको लागि काम गर्ने कि आफ्नो लागि । अनेसासको अवस्था बढ्नुको ठाँउमा घट्दै गई रहेको छ । सय डलरसम्मको पुरस्कार घोषणा गरेर वर्षमा ३०–४० वटा पुरस्कार घोषणा गरिन्छ र पुरस्कार वितरणका दिन आधाभन्दा बढी पुरस्कृतहरु नै आफ्नो पुरस्कार लिन पुग्दैनन् । पुरस्कारको गरिमा नभएर नै हो त ।  हिजोका नेतृत्व वर्गबाट भएको यस्ता कमजोरीलाई पहिल्याएर पुरस्कारको गरिमा बढाउन सही प्रक्रियाबाट कम से कम ५०० डलर भन्दा माथिको पुरस्कारको व्यवस्था गरिनु पर्छ । यस्ता धेरै नै अनेसासमा देखिएका कमी कमजोरीहरुलाई  मिलाउन संस्थाको नेतृत्व अन्तर्राष्ट्रिय स्तरबाटै हुनु पर्छ भन्ने मेरो मान्यता हो । यसले संस्थालाई अझ बलियो बनाउँछ ।
यसलाई कसैले पनि अन्यथा लिन हुँदैन । जति म गोबर्धनलाई चिन्छु त्यतिनै म राधेश्यामलाई पनि चिन्छु । तर भारती दिदीलाई कान्तिपुर छात्रावासकला २०३६ सालदेखि चिन्दै आएको छु र वहाँको उम्वेदवारी आएपछि मैले दिदीलाई महिला नेतृत्व अनिवार्य रहेको पनि भनेको थिए । वहाँले नछोडेको भए हुन्थ्यो । तर एकपटक नेपालको नेतृत्वमा अनेसास पुगेपछि त्यसले निरन्तरता पाईनै रहन्छ भन्ने तथ्यमा दुईमत नहोला । त्यसैले नेपालबाहिरका उम्वेदवारहरुले कम से कम यसको नेतृत्व नेपालबाहिरबाटै हुनु पर्छ भन्नु प¥थ्यो र आफैबाट सही व्यक्ती रोज्न सकिन्थ्यो । तर त्यसो भएन । यो कुरा बुभ्mन जरुरी भएको छ । अनेसास प्रारम्भदेखि नै विवादमा रहेर पनि साहित्य कर्म गर्दै आएकोले आप्रवासका साहित्यकर्मीहरु यसप्रति आकर्षित भएर आवद्ध हुँदै आएका छन् । तर यस अघिका नेतृत्व वर्गले आफ्नो नीजि स्वार्थका लागि साहित्यमा राजनीति थोपरेर आफ्नो पाटा गह्ुँगो बनाउने तिर मात्र लागे । फलस्वरुप आवासदेखि नै साहित्य कर्म गर्नेहरु आप्रवासमा आएरपछि साहित्य कर्म गरी रहन अनेसाससँग आबद्ध भएका थिए । तर कालान्तरमा यसभित्र चल्ने रणनीति थाहा पाएर यसबाट पन्छिदै गई हरेका छन् । त्यस्ता धेरै नामहरु छन् हिजोको नेतृत्व पंक्तमा रहेका बसन्त श्रेष्ठ, सुन्दर श्रेष्ठ, ज्ञानेन्द्र गदाल, डा. कुमार बस्नेत, कृष्ण बजगाईँ, शेखर ढुङ्गेल, गोबिन्द गिरी प्रेरणा, हेमन्त श्रेष्ठ, निलम कार्की निहारिका आदि धेरै नाम छन् ( झट्ट सम्झनामा आएका नाममात्र यहाँ राखे) तर अनेसासभन्दा टाढा किन भई रहेका छन् । यसरी नै अन्तर्राष्ट्रिय संस्थाको नेतृत्व नेपालमा गयो भने भोली के हुन्छ । अन्तर्राष्ट्रिय संस्थामा नेपालबाट नेतृत्व भन्दा पनि नेपालमा यसको सम्पर्क कार्यालय बनाएर नेपाली साहित्यको विश्वव्यापीकरणमा सबै मिलेर लाग्नु परेको छ । त्यसैले अनेसासमा सबैको सहभागिता रहे पनि नेतृत्व नेपालबाहिरका साहित्यकर्मीहरुबाट नै हुनु पर्छ भन्ने मान्यता राख्दै आएकोले यही कुरा दोहोराउँदै अनेसासलाई स्वस्छ  अन्तर्राष्ट्रिय साहित्य संस्था बनाउन सबैले हस्टेमा हैंसे गरौं ।
यो मेरो व्यक्तीगत विचार हो । यो विचार मैले अनेसासको चुनावको हावा चल थालेदेखि नै व्यक्त गर्दै आएको छु । कुरा प्रष्ट भएपछि कतै भ्रष्ट हुँर्दैन । यो विचार पोख्न थालेपछि धेरैले राष्ट्र विरोधी पनि भने भने मलाई गोबर्धनको समर्थन गरेको पनि भने । तर मेरो चाहना अनेसासको नेतृत्व सही तरिकाबाट होओस र यो अन्तर्राष्ट्रिय नै रही रहोस । त्यसैले अध्यक्ष नेपालबाहिरका नै हुनु पर्छ भन्ने मात्र चाहेको हुँ ।

डा. गोबिन्दसिंह रावत

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com