आफ्नो कुरा-५८


आईफाको नाममा करदाताको १९ मिलियन स्वाह

आईफा अर्थात अन्तराष्ट्रिय भारतीय चलचित्र पुरस्कार (International Indian Film Academy Award) ले विशाल टोरोन्टोलाई तताएको छ । आईफा कार्यक्रम हेर्न क्यानाडा र अमेरिकाका विभिन्न शहरबाट पनि चलचित्रप्रेमी दर्शकहरुको ओइरो लागेको छ । ४००० आगन्तुकहरुको आगमन विशाल टोरोन्टोमा हुने भनिए तापनि वास्तविक संख्या कसैलाई थाहा भएको छैन । आईफाको यो १२औं पुरस्कार समारोह हो । भारतीय चलचित्रलाई भारत बाहिर पुरस्कार गर्ने परम्परालाई निरन्तरता दिने यस पुरस्कारलाई बलिउडको अस्कार पनि भनिएको पाइन्छ । तर यो कुनै पनि कुनाबाट बलिउडको अस्कर हैन । व्यापारिक प्रयोजनका लागि शुरु भएको आईफा हिन्दी चलचित्रलाई पुरुस्कृत गर्ने विभिन्न संस्था मध्येको एक हो । यसलाई अलिबढी तमकझमकका साथ विदेशमा प्रस्तुत गरिने भएकोले यसको अलि बढी नाम छ । नत्र भने हिन्दी चलचित्रलाई त्यहा“ उत्पादित पान पराग र गुट्का कम्पनीले पनि पुरस्कार गर्दै आएको छ ।

आईफलाई क्यानाडामा ल्याउने जमर्को २००५ देखि शुरु भएको थियो भने २००९ मा क्यानाडाको अन्टारियो प्रान्तका प्रिमियर  डाल्टन मेग्युन्टीको भारत भ्रमणसंगै १२ औं आईफाको आयोजना अन्टारियो सरकारले गर्ने घोषणासंगै यसको जिम्मा सेलिब्रेट अन्टारियोलाई दिईएको थियो । यसको लागि अन्टारियो सरकारले १२ मिलियन डलर पनि अनुदान दिएको छ । आईफाको सफलताको गुनगान गाउनेहरु एकातिर छन् भने अर्को तिर जनतनाको करको पैसा अनावश्यक काममा खर्च गरेकोमा विरोध गर्नेहरु पनि देखापरेका छन् ।

अन्टारियो प्रान्तबाट प्राप्त १२ मिलियिन डलर दामासाहीले यहा“का चारवटा महानगरपालिकाहरु टोरोन्टो, ब्राह्म्टन, मिसिसा“गा र मारखमलाई तीन लाख डलरका हिसाबले कस्तान्तरण गरिएको छ । यसै पैसाबाट ती नगरपालिकाले आईफा र बलिउड सम्बन्धित कार्यक्रहहरु आयोजना गरेका थिए । ब्राह्म्टनले त आफ्नो शहरको एउटा सडकको नाम राज कपुरको नामबाट राखी दिएको छ । यसका लागि बेग्लै चार लाख डलर अनुदान अन्टारियो सरकारबाट पाएको छ । त्यस्तै झण्डै साढे तीन लाख डलर यहाँको एक स्थानीय संस्था बलिउड एण्ड वियण्डले पाएको छ । सब भन्दा रमाइलो कुरा त के भने बलिउडको बारेमा समेत जानकारी नभएको व्यक्तिलाई मिसिसाँगा नगरपालिकाले ५६ हजार डलर तलब दिएर एकजना व्यक्तिलाई बलिउड कार्यक्रम हेर्न नियुक्त गरेको छ । यी व्यक्ति फेरी नगरपालिका कै कर्मचारी पनि हुन् ।

यस कार्यक्रममा क्यानाडाका पि. आर. अक्षय कुमारनै देखिएनन् भने ठूला वडा कलाकारको त्यति बढी उपस्थिति नै देखिएन । क्यानाडाका भारतीय मूलका चलचित्रकर्मी दीपा मेहता, क्यानाडामा हिन्दी चलचित्र प्रदर्शनको थालनी गरेर क्यानाडामा बलिउड परिचय गराउने नव भाटिया जस्ता व्यक्तिहरुलाई कार्यक्रमबाट टाढै राखियो । यसरी जनताको करको पैसाको दुरुपयोग भएको बारे जानकारी पाउन इन्टरनेटमा एकैछिन बसेमा नै पुग्छ ।

यसबाट लिबरल नेता र अन्टारियो प्रान्तका प्रिमियर डाल्टन मेग्युन्टीले भने फायदा हुँने देखेको सपना सजाएर बसेका छन् । किनभने गत मईमा भएको केन्द्रिय चुनावमा क्यानाडाका प्रधानमन्त्री स्टेफन हर्परले बलिउडका नायक अक्षय कुमारलाई अफ्नो प्रचारको माध्यम बनाएर अन्टारियो प्रान्तका दक्षिण एशियाली मुलका वासिन्दाको मत बटुल्न सफल भएर अन्टारियोबाट लिबरल दलको अधिपत्य कम गरी दिए जस्तै प्रिमियर  डाल्टन मेग्युन्टीले पनि आउदो अक्टुबरमा हुने प्रान्तीय चुनावलाई प्रभाव पार्न यसो त गरेका हैनन् । तर जे भए पनि दक्षिण एशियाली मुलुकको नाममा जनताको करको पैसाले भारतलाई मात्रै प्रोत्साहन र सहयोग गर्न सरकारले पाउदैन यसका लागि भोली प्रिमियर  डाल्टन मेग्युन्टीले दक्षिण एशियाली मुलुकको प्रतिनिधित्व गर्ने अन्य संस्थालाई पनि उत्तर दिनु पर्ने हुन्छ ।

 

एनआरएन क्यानाडा अझ अपरिचित हाम्रो दायित्व

आउँदो ३१ जुलाईमा एनआरएन क्यानाडाको चुनाव हुँदैछ । पहिलो कार्यसमितिले आफ्नो कार्यकाल पुरा गर्दैछ भने नया“ कार्यसमितिका लागि नयाँ अनुहारहरु लामबद्ध छन् । लगभग तीन वर्ष कार्यकाल पुरा गरेको एनआरएन क्यानाडा अझसम्म क्यानेडियाली नेपालीहरुबीच अपरिचित छ वा क्यानेडियाली नेपालीहरु आफै परिचित हुन खोजेका छैनन् बुझ्न सकिएको छैन । संस्थाको सदस्यताका लागि महिनौंसम्म ईमेलबाट अनुरोध गर्दा समेत संस्थाका पूर्व कार्यकारिणी सदस्यहरु नै मौन भएर बसी रहे । केहीले लौ न त बनि दिउँ भनेर परिवारका अन्य सदस्यलाई पन्छ्याएर आफुमात्र सदस्य भएको पनि देखियो । क्यानेडियाली नेपालीहरुलाई सदस्यताका लागि प्रोत्साहन गर्ने खालका कुनै प्रकारको सभा, बैठक, भेटघाटको कार्यक्रमसम्म राख्न नसकेर नै पहिला भन्दा कम सदस्यता भएको पाइयो । बरु संस्थाका कार्यकारिणीहरु भन्दा व्यक्तिहरु आआफै लागेर सदस्यता  बनाउँदै हिडेको पाइयो । यो प्रयास पनि आफु चुनावमा प्रत्यासी बन्नका लागि गरिएको अनुमान गरिएको छ । एनआरएन क्यानाडाको स्थापना भएको तीन वर्षमा नै क्यानाडाका नेपालीहरु सदस्यता बन्नुप्रति चासो नदेखाउनुबाट नै यस बारे यहाँका नेपालीहरु अझसम्म पनि अनभिज्ञ हुनु वा रहनुमा जवाफदेही को । संस्था व्यक्तिबाट नभएर समुदायबाट चल्ने गर्छ र यसका लागि समुदाय अनि समुदायलाई परिचालन गर्नेहरुको आवश्यकता रहने गर्दछ । सबैलाई समेट्ने कार्यसक्षमता र दक्षताको आवश्यकता चाहिन्छ भने समुदायहरुमा पनि संस्थाप्रतिको प्रतिबद्धता चाहिन्छ । एनआरएन के हो र यसको गठन के कस्तो उद्देश्यका लागि भएकोबारे समुदायलाई जानकारी गराउनु जरुरी छ भने समुदायले पनि एनआरएन कस्को संस्था हो र यसमा मेरो÷हाम्रो सहभागिता किन चाहिन्छ भन्ने वारे बुझ्नु पनि अनिवार्य हुन्छ ।

एनआरएनले नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुका प्रतिनिधित्व गर्दछ । यो प्रवासमा बस्ने नेपालीहरुको संस्था हो । एनआरएनले हामी प्रवासमा बस्ने नेपालीलाई नेपालसंग सदैव जोड्ने काम गर्दै आएको छ र त्यसैका लागि यसले आफ्नो स्थानिय कालदेखिनै एक पटकको नेपाली सधैको नेपाली भन्ने नाराका साथ दोहोरो नागरिकताका लागि नेपाल सरकारसंग पहल गर्दै आएको छ । आज हाम्रो देशको अस्थिर राजनैतिक क्रियाकलापले गर्दा स्थाई सरकार गठन हुन सकिरहेको छैन । भोली बन्ने संविधानले समेत देशबाहिर बसोबास गर्ने नेपालीहरुलाई देशप्रति आस्था बनाई राख्न दोहोरो नागरिकताको प्रावधान राखेको छ । यस्तो भएको खण्डमा अर्थात भोली नेपाल सरकारले दोहोरो नागरिकताका लागि सम्पूर्ण प्रवासी नेपाली (एन.आर.एन.) हरुमा आव्हान गरेमा त्यसको मापडण्ड निर्धारण गर्ने र दोहोरो नागरिकताका लागि सिफारिस गर्ने संस्था भनेको नै एन.आर.एन. हो । त्यसका अतिरिक्त नेपालबाहि बसोबास गर्ने नेपाली भनेर हामी आफ्नो परिचय दिने गर्छौ । जुन मुलुकमा हामी बसोबास गर्दै आएका छौं त्यस मुलुकमामा हाम्रो संख्या कति छ । त्यसको लेखाजोखा कस्ले राख्ने र कस्ले राखेको छ । कम से कम एन.आर.एन. त छ जसको हामी सदस्य भएपछि एकातिर प्रवासी नेपाली हुने गर्छौ भने अर्कोतिर हाम्रो संख्या पनि गणना हुँदै जान सक्छ । अहिले क्यानाडा सरकारले जनगणना शुरु गरेको छ । कम्प्युटरमा अनलाईनबाट अनिवार्य जनगणनामा भाग लिन क्यानाडा सरकारले अनुरोध गरेको छ । यो अनिवार्य भएकोले हामी सबैले यसमा भाग लिएका छौं । यो हाम्रो कर्म थलो हो ।तर हामी आफ्नो जन्मथलोप्रति किन यसरी उदासिनता देखाई रहेका छौं । एनआरएन–क्यानाडाले कम्प्युटरमा अनलाईनबाट सदस्यताको लागि अनुरोध गर्दै आएको छ तर विशाल टोरोन्टोमा पाच हपजारको हाराहारीमा बस्ने हामीहरु एनआरएन–क्यानाडाको सदस्यता लिष्टमा लगभग ४०० मात्र देखापरेका छौं । अरु ४६०० नेपालीहरु कता छन् । किन हामी नेपाली भनेर गर्वका साथ आफुलाई चिन्हाउन डराई रहेका छौं । हिजो क्यानाडा आउदा हामीलाई कुनै संस्था नचाहिएता पनि भोली चाहिएला । नेपालबाट नेपाली भएर क्यानाडा आएका हामीहरु यहाँ पनि नेपाली नै भएर बसौं । आफ्नो परिचय एनआरएन–क्यानाडामा लेखाएर एक पटकको नेपाली सधैको नेपाली भएर बसौं । अनिमात्र हामी सही व्यक्तिहरुको चयन गरेर संस्थागत विकास गर्न सक्छौं ।

 

Share this:
Share this page via Email Share this page via Stumble Upon Share this page via Digg this Share this page via Facebook Share this page via Twitter

Comments are closed.

copyright Khabarsampresan.com