आजको एक्काईसौं शताब्दीमा सूचनाको अधिकार सबैमा बरोबरी हुनु पर्ने मान्यतालाई पच्छ्याउदै २०५९ साल (२००२) देखि जीवनको उत्तरार्धमा कर्मथलो बनेको क्यानाडामा यहाका नेपाली समुदायका समाचार र विचारहरुलाई संचारको माध्यमबाट प्रवाह गर्ने विचार आएकोले प्रारम्भमा समाचार बनाएर नेपालका छापाहरुका साथै अन्य विद्युतीय संचार माध्यमहरुमा प्रेषित गर्न थालेपछि यसै लहडमा क्यानाडामा पहिलो नेपाली भाषाको रेडियो नमस्ते रेडियोको स्थापनापछि समाचारलाई पाठकसामू पुर्याउन आफ्नै एउटा माध्यमको थालनी गर्ने सन्दर्भमा खबर सम्प्रेषणको थालनी भएको थियो। २००८ जनवरीदेखि पाक्षिक रुपमा समाचार र विचार प्रेषित गर्ने सन्दर्भमा शुरुभएको खबर सम्प्रेषणलाई नेपाली समुदायमाझ पुर्याउन सहयोगी विद्युतीय संचार नेपाल होराइजन डट कमले सहयोग गर्न थालेपछि इमेल मार्फत खबर सम्प्रेषण घरघर पुर्याउने अभियान शुरु भयो। आजको मितिमा पचास हजार भन्दा बढी प्रापक रहेको खबर सम्प्रेषणलाई प्रत्यक्ष र परोक्ष सहयोग गर्ने सम्पूर्ण शुभचिन्तकहरुमा आभार प्रकट गर्दै सहयोगको निरन्तर अपेक्षा राखेको छु।
संगीतबाट आफ्नो कलायात्रा शुरु गरेर अभिनय कलालाई सौक बनाएर रंगमञ्चकर्मी हुदै साहित्य लेखनतिर अगाडि बढ्दै आज पत्रकारितासम्म आई पुगेको छु। यो माध्यम क्यानाडाका नेपालीहलाई सुचना प्रवाह गर्न भनेर शुरु भएको थियो र आज वेग्लै विद्युतीय संचार बनेर भाषा साहित्य र कलाको विस्तार विकास र सम्वर्द्धनका लागि खबर सम्प्रेषण सदैव लागि रहने छ।
त्यसैले हामी विदेशमा बस्ने नेपालीहरु आत्मा, मन र वचनले प्रण गरौं कि हामी घरमा, आफन्त र सन्तानहरसंग नेपालीमा नै कुरा गर्ने छौं।
भाषा रहे हामी रहन्छौं र हामी नेपाली भएको हाम्रो अस्तित्व रहन्छ।
खबर सम्प्रेषण डटकम समुह